मेरो परिभाषाविहीन खुशी

मलाई खुशी के हो भनेर सोधिने प्रश्न जहिले अप्ठेरो लाग्छ | बोल्न रमाइलो लाग्ने मान्छे म, कुनै उत्तर त दिउंला, तर उत्तरपछी आफुलाई प्रश्न गर्छु –  के येही हो त खुशी मेरा लागि ?

खुशी के हो त?

मेरो लागि यसको उत्तर हरेक जन्मदिन पछि फेरिने वाक्य हो |

मेरो लागि खुशी हरेक अवस्थामा भिन्नै अनुभूति दिने महशुस  हो |

सायद, मेरो लागि खुशी हरेक भिन्न भिन्न मानिसलाइ भिन्न भिन्न अवस्थामा मैलै दिएको भिन्न भन्न खुशीको सबै व्याख्या हो |

मलाई प्रश्न जहिले पनि मन पर्छ | आज त्यहि क्रममा एउटा अर्को प्रश्न पाए, ‘हजुरलाई के ले खुशी बनाउँछ ?” लामो समय भएको थियो यो प्रश्न नआएको, आज चाहिं जीवनको एक चौथाई उमेर बिताइसके पछी पनि सटिक खुशीको ब्याख्या नहुँदा मन छटपटी राखेको थियो  |

बिहानदेखी सोचिराखेको छु , मलाई ठ्याकै के ले खुशी बनाउँछ ?

सायद रमाइलो मा, रमझम ले

दिक्क लाग्दा, एउटा गीत ले

लामो दिन पछी  घर फर्किंदा , ममीले बनाएर राखिदिएको चिसो जुसले,

कहिलेकाहिँ भीडमा मेरो कामको प्रशंसाले

सायद कहिले एक्लै हुँदा मिठो निन्द्राले

कसरी बिर्सिउं !! हरेक महिनाको अन्तिम को salary ले

ओह हो !! साथीहरुसंग साटिएको रमाइला याद ले

केहि राम्रो गरेपछि साटिएको मुस्कान ले

घरमा खाना खाने टेबलमा भएको हाँसोले …..

सोचीराछु के ले चाहिं खुशी बनाउँदैन ? ( फेरी यो भन्दैमा केहिले दुखी बनाउँदैन भन्ने चचाहिं होइन है, यसका  लागि अर्को २ पाना लेखे पनि अट्दैन, आज खुशी कै कुरा गरौँ )

अब परिभाषा कसरि दिउँ खुशीको म ?मैले उनलाई उत्तर दिए (२/४ second को सोचाई पछी) ‘सानो सानो कुराले’ |

उनले सोधिनन त्यो सानो सानो कुरा चाहिं के हो भनेर | म बचें उल्झन पर्ने प्रश्न थपिएन भनेर | हाम्रो कुरा मोडियो तर घर फर्कंदा महानगर यातायातको कुनाको सिटमा मास्क लगाएर आँखा चिम्म गर्दै सोचे ‘सानो सानो चाहिं के कुरा हो कुन्नि?’ |

मलाई खुशी को एउटा व्याख्या  नबनाई भएको थिएन| होइन कसैले फेरी सोध्यो भने के भन्ने होला, भएन एउटा व्याख्या त हुनुपर्छ सायद |
मनोविज्ञानको विधार्थी म, खुशी भन्ने emotion आउँदा के के परिबर्तन आउंछन मलाई थाहा छ | त्यो भन्दैमा खुशी के हो भनेर परिवर्तनलाई व्याख्या  गर्नु त मिलेन | नभए भानिदिन्थे ‘खुशी? ओह्हो यो त तिमीले मन परेको कुरा हुदा, ब्रेन ले serotonin हार्मोन निकाल्छ अनि तिमी मुस्काउँछौं , हो अनि त्यही हो खुशी’?

के त्यति हो त खुशी?

तर फेरी अस्ती भर्खर म आँखा भरि आँसु लिएर पनि त खुशी भएको थिएँ नि त, त्यो चाहिं  के खुशी थिएन?

यो अन्योलबाट निस्किनको लागि धेरै बेरको अन्तरिक द्वन्द र सोचाइ पछी सोचे, खुशी त मेरो लागि ‘एउटा absract painting हो’, जसरी मैले जहिले व्याख्या गरे नि भयो |

व्याख्या छैन भनेर खुशी हुन त छोड़दिन | सायद, मेरो लागि खुशी यहि हो | अंग्रेजीमा भन्छन ‘contentment and settlement is happiness’ , मेरो लागि ‘contentment and settlement in the moment is happiness’ | सायद मेरो परिवर्तित खुशीको कारण पनि त्यो moment कै contentment होला |

मेरो लागि खुशी त्यो हरेक पटक परिवर्तित व्याख्या हो जसले मलाई महशुस गराउँछ कि ‘किन र के ले खुशी बनाउँछ भनेर सोचेर अड्किनु भन्दा आफु खुशी छु भनेर सोच्नु ठुलो खुशी हो” | मेरो लागि शब्दमा ढाल्न नसकिने खुशी नै खुशी हो| मेरो लागि हरेक नयाँ कुराले ल्याउने राम्रो परिवर्तन नै खुशी हो |

सबै भन्दा ठुलो खुशी, सायद अहिले को अबस्था मा ‘म संग खुशी को एक-वाकीए अर्थ नभएको’ अबस्था नै खुशी होला जसले मलाई सधै सम्झाउछ कि मलाई खुशी तुल्याउने एउटा वाक्य खुशी नभएर सयौँ  कुरा र कारण छन् |

अर्को पटक फेरी मलाई प्रश्न सोधियो र नयाँ परिभाषा आयो भने तब सोच्नेछु कि एउटा अर्को कारण भेटिएछ खुशीको | फेरी आज प्रश्न सोध्ने बहिनीले फेरी सोधिन भने सायद भन्नेछु ‘‘परिभाषाविहीन’ खुशी नै मेरो सबै भन्दा ठुलो खुशी हो’’ |

बुझ्न गाह्रो होला उनलाई तर मेरो लागि त्यहि नै खुशी हो |

अब तपाइंको खुशी चाही के नि ?